Header Ads

दुख्दैन देश दुर्योधनहरूलाई : कविता

रामेश्वोरी पन्त
फ्याँकीरहेछन् सयौं शकुनीहरू

कपटका पासा

कोशिस गरिरहेछन् हरदम

पराजित गर्न

सत्य र न्यायलाई



उन्मत्त उफ्रँदै दुर्योधनहरू

जङ्घा पिटेर आदेश दिइरहेछन्–

न्याय हाम्रो मुठ्ठीमा हुनु पर्दछ

सत्य हाम्रो पैतालामा दबिनु पर्दछ

त्यसैले

च्यातिदेऊ

नाथे निमुखाहरूको पक्षमा लेखिएको दस्तावेज

र, धुजा–धुजा पारेर फालिदेऊ



ख्वामितको आदेश पर्खिबसेका दुःशासनहरू

हात लम्काइरहेछन्

सत्य र न्यायको चीरहरण गर्न,

अट्टहास गरिरहेछन् दुर्योधनहरू

तेजोबध गरिरहेछन् कर्णहरू

नतमष्तक छन् धर्मराजहरू



सत्ताको मोहमा

अन्धा धृतराष्ट्रहरू

केही नदेखेझैँ गरिरहेछन्

केही नसुनेझैँ गरिरहेछन्

चेतनाहीन बनिरहेछन् भिष्मपितामहहरू

र, नुनको सोझो गर्दै

निरिह, टुलुटुलु

हेरिरहेछन् सत्य र न्यायको चीरहरण

अँहँ ! बोल्नुहुँदैन भिष्महरूले

नाङ्गियोस् सत्यको दस्तावेज

च्यातियोस्, केही छैन

तर नुनको सोझो गर्नैपर्छ

किनकी

दुर्योधनहरूको कालो नुन जो खाएका छन् !



बिचरो बिदुर !

एक्लै चिच्याइरहेछ

लोभी, पापी र कपटीहरूको क्रिडास्थलमा

पटक पटक

र, भनिरहेछ

‘हे न्यायका हर्ताकर्ता !

छोड पापीहरूको साथ

च्यातिन नदेऊ गरीबको दस्तावेज

पु¥याऊ झुपडीहरूमा

र, ओत लगाऊ

रोग, भोक र शोकको झरीबाट !’



चुप छन् भिष्मपितामहहरू

चुप छन् धृतराष्ट्रहरू

र त एक्लो बिदुर

सत्य र न्यायलाई

दुर्योधन र दुःशासनहरूको कब्जाबाट मुक्त गर्न

ज्यानको बाजी लगाएर

सत्याग्रहमा डटेको छ

यो देश दुखिरहन्छ उसलाई

सिटामोल र जीवनजल नपाएर

मर्दै मर्दै बाँचिरहेको सुदूर पश्चिम दुख्छ उसलाई

स्वास्थ्यचौकीको अभावमा

सुत्केरी आमाहरू गुमाइरहेको कर्णाली दुख्छ उसलाई



तर

दुख्दैन दुर्योधनहरूलाई

एक पोका रगत नपाएर ज्यान गुमाएका

जुम्लाका जनकलाहरू

हुम्लाका हरिशोभाहरू

र, मुगुका मनमायाहरूका मृत्युका खबरले

दुख्दैन उनीहरूलाई

सुरक्षित सुत्केरी सेवाको अभावमा

बच्चा जन्माउन नसकेर ज्यान गुमाएका

सुर्खेतका सीताहरू

र, कालिकोटका गोरिकलाहरूका मृत्युका खबरले

दुख्दैन सिटामोल र जीवनजलको अभावमा ज्यान गुमाएका

आइतमान, दलवीर र पूर्णमायाहरूका मृत्युका खबरले



दुख्दैन दुर्योधनहरूलाई यो देश

दुख्छ त केवल गोविन्द केसीहरूलाई

त्यसैले

बाँच्नुपर्छ यहाँ गोविन्द केसीहरू

किनकी

गोविन्द केसी मर्नु भनेको

यो देशको न्याय मर्नु हो

गोविन्द केसी हार्नु भनेको

यो देशको सत्य हार्नु हो

यदि, न्याय म¥यो भने

सत्य हा¥यो भने

जित्नेछन् सधैँ सधैँ

दुर्योधन, दुःशासन र शकुनीहरूले

हार्नेछन् यो देसका नागरिकहरूले ।

No comments