लोपउन्मुख संस्कृतिको संरक्षण गर्न कम्मर कस्दै मेघौलीका कुमाल समुदाय
कार्तिक ८ गते, चितवन ।
लोपउन्मुख कुमाल जातिको संस्कृतिलाई जगेर्ना गर्नका लागी बृहत कुमाल सांस्कृतिक कार्यक्रम भएको छ ।
कुमाल सांस्कृतिक कार्यक्रम समिति भरतपुर २८ पर्साबजारको आयोजनामा भएको कार्यक्रममा लोप भैसकेको कुमाल सांस्कृतिक नृत्य पाङ्दुरे सहित लोप हुने अवस्थामा रहेको नृत्य सोरठी, मारुनी, भेषभुषाको समेत प्रदर्शन गरिएको हो ।
कुमाल जातिको अस्तित्व नैै धरापमा परेको कुमाल जातिको संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न नसक्दा लोप हुन लागेकोले संस्कृति संरक्षणका लागी युवा शक्ति जुट्नुपर्ने भरतपुर २८ का वडाध्यक्ष आश बहादुर कुमालले बताउनुभएको थियो । राज्यले राजनीतिमा समान पहुँचका लागी हरेक जातिलाई बाटो खोली दिएको छ । तर सरकारले दिएको अवसरलाई सहि उपयोग गर्न नसक्नु नै कुमाल जातिको दुर्भाग्य रहेको अध्यक्ष कुमालले बताउनुभयो । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका उहाँले कुमाल जाती र संस्कृतिको संरक्षणका लागी राज्य संग बजेटको माग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।
यस्तै,काठमाण्डौँका अध्यक्ष विशाल कुमालले हाल १२ प्रतिशतले मात्र कुमाल भाषा बोल्ने जानकारी दिनुभयो । सोहि कार्यक्रममा मेघौली पर्यटन विकास समिति चितवनका अध्यक्ष हरिश चन्द्र महत्तोले स्वयं अगाडी बढ्न नसके अरुले आएर कुमाल भाषा संस्कृतिको संरक्षण नगर्नेमा सबैको ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले संस्कृतिबाट आर्थिक रुपमा बलियो बन्न सकिने भन्दै मनमोहक संस्कृतिले भरिपूर्ण कुमाल जाती २०२० पर्यटन वर्षको केन्द्रविन्दु बन्न सक्ने बताउनु भयो ।
कार्यक्रममा नवलपरासीका अध्यक्ष मदन कुमाल, केन्द्रीय सचिव शिव कुमाल, सदस्य विवेक कुमाल तनहुँ र नवलपरासीका सांस्कृतिक टोली लगायतको उपस्थिति रहेको थियो । कुमाल सांस्कृतिक कार्यक्रमका संयोजक रामसिंह कुमालले ठाउँ अनुसार फरक पहिरन देखिएको गुनासो गर्दै गहन अनुसन्धान गरी एकरुपता ल्याउनु पर्ने धारणा राख्नुभएको छ । यस्तै कार्यक्रममा सहयोग स्वरुप प्राप्त १७ हजार रुपैँया सांस्कृतिक संरक्षणमा लगाउने संयोजक रामसिंहले जानकारी दिनुभयो ।
Post a Comment