Header Ads

रोहिंगा हिंसामा आङ सान सू कीले भनिन् ‘आतंकवादीलाई मद्दत गर्न झूटो खबर’

 बिबिसी
म्यानमारकी सर्वमान्य नेता आङ सान सू कीले अल्पसंख्यक मुस्लिम समुदाय रोहिंगामाथि भइरहेको हिंसाबारे पहिलोपटक मुख खोल्दै ‘गलत सूचना बढाइचढाइ पेस गरिएको’ प्रतिक्रिया दिएकी छन्।

सरकारी सुरक्षा फौज र बौद्ध समुदायबाट सयौं रोहिंगा मारिँदा र दसौं हजारलाई देश छाडेर भाग्न बाध्य पारिँदा पनि मौन साँधेकी नोबेल शान्ति विजेता सू कीले बुधबार भनिन्, ‘आतंकवादीको स्वार्थ बढावा दिने झूटा खबरले नै यो तनाव बढाएको हो।’

टर्किस राष्ट्रपति रेजेप ट्वाइप एरेड्वाँसँग टेलिफोन कुराकानी क्रममा सू कीले उक्त प्रतिक्रिया व्यक्त गरेको उनका अधिकारीले जनाएका छन्।

सक्रिय सैनिक शासन बेला १५ वर्ष नजरबन्द रहेकी सू की रोहिंगा मामिलामा अप्रत्यासित ढंगले चुप थिइन्। प्रजातान्त्रिक आन्दोलनकै पर्याय मानिएकी उनको यो मौनलाई अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै आएको छ। दुई सातायता चर्किएको हिंसापछि सू कीमाथि दबाब बढेको छ।

दुई सातायता १ लाख २० हजारभन्दा बढी रोहिंगा म्यानमारबाट भागेर बंगलादेश छिरेका छन्।

    यो पनि हेर्नुहोस्:
    रोहिंगा हिंसापछि उठेको प्रश्न- आङ सान सू कीको नोबेल पुरस्कार किन फिर्ता नलिने?

रोहिंगा भनेको म्यानमारको तटीय क्षेत्र रखनमा बस्ने अल्पसंख्यक मुस्लिम समुदाय हो। बौद्ध समुदायबाट दशकौंदेखि दमन सहँदै आएका रोहिंगालाई सैनिक शासन बेला नागरिक हकबाट समेत वञ्चित गरियो। सैनिक शासकले उनीहरूको नागरिकता खोसेर सामूहिक हत्या र बलात्कारको शिकार बनाएको राष्ट्रसंघले जनाएको छ।

सू कीले रखनमा बसोबास गर्ने सबैको सुरक्षाका लागि हरसम्भव प्रयास सुरु गरेको बताएकी छन्।

टर्किस राष्ट्रपति एरेड्वासँगको कुराकानीपछि जारी सरकारी विज्ञप्तिमा सू कीलाई उद्धृत गर्दै भनिएको छ, ‘हामीलाई राम्ररी थाहा छ, अरू धेरैलाई भन्दा राम्ररी थाहा छ, मानव अधिकारबाट वञ्चित हुनु भनेको के हो, प्रजातान्त्रिक सुरक्षाबाट वञ्चित हुनु भनेको के हो?’

‘हामीले आफ्नो देशमा बसोबास गर्ने जनताका सबै अधिकार सुनिश्चित गरेका छौं,’ सू कीले भनेकी छन्, ‘जनताको अधिकार भनेको राजनीतिक मात्र होइन, सामाजिक र मानवीय सुरक्षाको अधिकार पनि हो।’

रोहिंगा मुद्दा बढाइचढाइ प्रस्तुत गर्न झूटा तस्बिर तथा समाचार प्रचार भइरहेको पनि सरकारी विज्ञप्तिमा उल्लेख छ।

‘एउटै देशमा बसोबास गर्ने दुई समुदायबीच समस्या खडा गर्दै आतंकवादीको स्वार्थ पूर्ति गर्ने उद्देश्यले यस्ता झूटा तस्बिर र समाचार फैलाइएका छन्,’ सू कीलाई उद्धृत गर्दै सरकारी विज्ञप्तिमा भनिएको छ।

अघिल्लो साता दसौं हजार रोहिंगा देश छाड्न बाध्य भएपछि संसारभरिबाट यो मुद्दामा चासो बढेको छ। त्यसयता भदौ २० गते बुधबारसम्म रोहिंगा मुद्दालाई लिएर १२ लाख ट्विट गरिएका छन्। रोहिंगा केटाकेटी र महिलासमेत सरकारी सुरक्षा फौजबाट कसरी प्रताडित छन् र कसरी जोखिम मोलेर बंगलादेशको शरणार्थी शिविर पुगेका छन् भन्ने खबर तस्बिरसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेका छन्।

यी तथ्य बेवास्ता गर्दै सू कीले झूटा खबर र तस्बिर देखाएर गलत सूचना पेस गरिएको भनेपछि उनको थप आलोचना सुरु भएको छ।

उनका जीवनी लेखक जस्टिन विन्टलले सू कीको प्रतिक्रियाबाट आफू छक्क परेको बताएका छन्।

‘अन्तर्राष्ट्रिय स्तरमा उठेको विचारलाई सू कीले मतलब गर्न छाडेकी छन्, उनी सेनाको हातमा पुगिसकिन् कि भन्ने लाग्छ,’ उनले भने, ‘उनले जिन्दगीमा धेरै उपलब्धि हासिल गरेकी छन्, हामी यो सत्य नकार्न सक्दैनौं, तर सर्वसाधारण जनतालाई आवश्यक परेका बेला उनीहरूको पक्षमा उभिन सकिएन भने ती सबै उपलब्धिको के अर्थ?’

यसबीच अन्तर्राष्ट्रिय समुदायबाट रोहिंगा मुद्दामा चासो बढेको छ।

टर्किस राष्ट्रपति एरेड्वाँसहित चेचेन नेता रमजान केड्रोभ लगायतले रोहिंगा समुदायको समर्थन गरेका छन्। इन्डोनेसियाको जकार्तामा रोहिंगाप्रति ऐक्यबद्धता जनाउँदै हजारौंले म्यानमार दूतावाससामु प्रदर्शन गरे। इन्डोनेसियाली विदेश मन्त्री रेट्नो मार्सुदीले सू कीसँग भेटेर यो रक्तपात अन्त्यको निम्ति पहल गर्न आग्रह गरेका छन्।

म्यानमार सरकार भने यो समस्या हल गर्न गम्भीर नभएको भन्दै आलोचित छ।

केही रोहिंगा छापामार समूहले यही अगस्ट २५ मा सरकारी सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि हिंसा भड्किएको हो। त्यसयता म्यानमार सुरक्षा फौज र बौद्ध प्रदर्शनकारीले रोहिंगामाथि सामूहिक हिंसा मच्चाएका छन्। पछिल्लो एक सातामै सुरक्षा कारबाहीबाट ज्यान जोगाउँदै दसौं हजार रोहिंगा बंगलादेश छिरेका छन्। सरकारी आँकडाअअनुसार म्यानमारसँग जोडिएका बंगलादेशी सीमावर्ति स्थलमा चार लाख बढी रोहिंगा शरणार्थी छन्।

सरकारी फौजले रोहिंगा बसोबास गर्ने गाउँमा हेलिकप्टरबाट गोली बर्साएर सामूहिक हत्याकाण्ड मच्चाएको त्यहाँबाट भागेर बंगलादेश पुगेका भुक्तमानहरूले बताएका छन्। हिंसाबाट ज्यान जोगाएर भागेकालाई पनि सुरक्षा फौजले छाडेका छैनन्। यसले रोहिंगा हिंसामा यसैपालि सयौं जनाको ज्यान गइसकेको आकलन छ।

No comments